पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र केही व्यक्तिको स्वार्थ रक्षामै सीमित भएको टिप्पणी गरेका छन् ।

६८ औँ प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रका नाममा जारी सन्देशमा उनले कुनै व्यक्ति वा दल विशेषको आलोचना नगरेपनि सीमित व्यक्तिको स्वार्थ रक्षालाई जनताले प्रजातन्त्रका लागि बुझिदिनुपर्ने बाध्यता देखिएको टिप्पणी गरेका हुन् ।

उनले प्रजातन्त्र संस्थागत गर्न भएका राजनीतिक सम्झौता सहमति तथा समझदारीको समीक्षा हुनुपर्ने पनि बताएका छन् । प्रजातन्त्रलाई संस्थागत गर्ने वा समस्याहरुको समाधान खोज्ने क्रममा भएका कुनै पनि राजनीतिक सम्झौतामा देशको गौरव बढाउने विषयले प्राथमिकता किन पाएन, यो वर्तमानमा जनतामा ज्वलन्त प्रश्न भएको उनको दाबी छ ।

हालै सम्पन्न निर्वाचनप्रति कटाक्ष गर्दै उनले प्रजातन्त्र भनेको निर्वाचनहरुको आयोजनामात्र हो भन्ने भ्रम फैल्याउन खोजिएको टिप्पणीसमेत गरेका छन् ।

देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सवल तुल्याउँदै जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर व्यवहार गरिने व्यवस्थामात्र प्रजातन्त्र हुनसक्ने भन्दै उनले अहिलेको अवस्थामा प्रजातन्त्रको प्रत्याभूति नभएको तर्क गरेका छन् ।

तपाईको प्रतिक्रिया