काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सडक (माइतीघर), सदन र न्यायालयमा जन्ममितिको ‘लफडा’ भएको बताएका छन् । संसद्मा दरिलो उपस्थिति जनाउन र एमाले-माओवादी केन्द्रबीचको पार्टी एकतालाई मद्दत पुग्ने गरी संसदीय गतिविधिमा एकरुपता ल्याउन दुबै पार्टीले संयुक्तरुपमा नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजना गरेको प्रशिक्षणमुलक भाषणका क्रममा उनले देशमा जताततै जन्ममिति र नागरिकताको विवाद भएको बताएका हुन् ।

उनले आइतबार हुने संघीय सांसदको शपथको बेला आफू भन्दा कम उमेरका व्यक्तिले शपथ खुवाउन लागेको बताउँदै भने, ‘हिजोसम्म राजपाका महेन्द्र राय यादवलाई मैले भाइ भनेको थिएँ। भोलि नागरिकताको आधारमा उहाँ ज्येष्ठ सदस्य हुनु भयो। सबैलाई शपथ खुवाउँदै हुनुन्छ।’

उनले यथार्थ उमेर भन्दा नागरिकतामा बढी उमेर भएकोले यस्तो भएको बताए। उनले सडक र न्यायालयमा जन्ममिति विवाद देखिएको अब यो रोग संसदमा पनि छिरेको बताए। उनले भने, ‘धन्न एउटै मात्रै जन्ममिति भएको म एक्लै पो रहेछु कि क्या हो। जन्ममितिः २००८ साल फागुन ११ गते शनिबार।’

भोलि आइतबार आफू भन्दा कान्छा व्यक्तिलाई बढी उमेरको भन्दै उनीबाट शपथ लिनुले नै देश कस्तो रहेको भन्ने संकेत गरेको प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘धेरै जन्ममिति भएका मन्त्री छन्, न्यायाधीश छन्, सांसद छन्।’

प्रशिक्षणका क्रममा अदालतले राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनित गरेको नाममा अनावश्यक बखेडा झिकेको बताए। उनले भने, ‘अदालतले अनावश्यक विषयमा चासो देखाउनु राम्रो होइन। सरकारले आफ्नो क्षेत्राधिकार भित्र रहेर सिफारिश गरेको हो। राष्ट्रपतिले मनोनित गरिसकेपछि सक्कियो।’

तपाईको प्रतिक्रिया