२५ दिन मै सम्पन्न भएको ६० लाखको सभाहलको छानविन गर्न अख्तियारको टोली पुग्यो इस्मा

295

साउन 21, ईस्मा गाउँपालिकाले असारको मुखमा निर्माणको सभाहलको गुणस्तरमाथि प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुनसन्धान आयोगले अनुसन्धान शुरु गरेको छ ।

६० लाखको सभाहल २५  दिन मै सम्पन्न गरेको बारे समाचार रातोपाटीमा प्रकाशित भए लगत्तै बुटवलस्थित अख्तियारको टोली आज उक्त स्थानमा मूल्याङ्कन गर्न पुगेको हो ।

६० लाखको सभाहल २५ दिनमै सम्पन्न, पर्‍यो छानविनको दायरामा

गाउँपालिकाको वडा नम्बर–३ दर्लामचौर ठाडुङ्गामा गत जेठ २८ गते सभाहल निर्माण गर्ने उपभोक्ता समितिबाट निर्णय गराइएको थियो । निर्णयपछि निर्माण शुरु गरिएको सभाहल २५ दिनभित्र सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर खत्रीले बताएका छन् ।

भवन निर्माणको जिम्मा विष्णुप्रसाद अधिकारीलाई  दिइएको थियो । उनीबाट  पारिश्रमिक  पाउने गरि कोषाध्यक्ष खड्कबहादुर खत्रीलाई समेत रेखदेखका लागि नियुक्त गरिएको निर्णय गरिएको थियो ।

यता, विपक्षी दलले भने उक्त भवन निर्माणमा अनियमितता भएको र खर्च भएको रकमको तुलनामा गुणस्तरहीन भवन निर्माण भएको आरोप लगाएपछि छानविनका लागि अख्तियारको टोली गुल्मी पुगेको हो ।

अख्तियारको टोली आज त्यस स्थानमा अनुसन्धान गर्न पुगेको बुटवलस्थित अख्तियार  अनुुसन्धान आयोगका  प्रबक्ता सुरेश भुसालले जानकारी दिए ।

‘अख्तियारको टोलीले नाप जाँच गरि फर्किएको छ,’ विपक्षी राजनैतिक दल नेपाली कांग्रेसको तर्फबाट सहभागि भएका रामप्रसाद पन्थले भने ।

अख्तियार टोलीसंगै ईस्मा गाउँपालिका उपप्रमुख तथा अनुगमन समितिकी संयोजक विमला खत्री र वडा नम्वर ३ का वडाध्यक्ष तोयनाथ सापकोटा पनि पुगेको बताइएको छ ।

ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले भने, ‘पारदर्शीताका सवालमा कोही कसैलाई नछाड्ने भन्दै छानविन समिति गठन गरेको बताएका छन् ।

कमजोरी भए–नभएको अनुसन्धान पछि मात्र खुल्ने आयोगका प्रबक्ता भुसालले रातोपाटीलाई बताए ।

उक्त गाउँपालिका भवन बिना टेन्डर हतार जेठ २८ गते उपभोत्ता  समितिले स्थानीय विष्णु अधिकारीलाई जिम्मा दिएको थियो ।

भवन निर्माणको जिम्मा पाएका अधिकारी त्यसै वडाका वडाध्यक्ष सापकोटाका आफ्नै छोरी ज्वाइँ हुन् । विपक्षी राजनैतिक दल नेपाली काँग्रेसका नेता कार्यकर्ताले आफ्नै ज्वाइँलाई सभाहल निर्माणको जिम्मेवारी दिइएको र पारदर्शी हुन नसकेको भन्दै  आलोचना गरेका छन् ।

तपाईको प्रतिक्रिया