भोटको ओत : टीनका छाना पाएपछि इस्माका बिपन्न परिवार खुसी

88

गुल्मी, ६ मंसिर। जनता आवास कार्यक्रम अन्तरगत ‘खरका छाना मुक्त’ अभियान अहिले जिल्लाका सवै स्थानीय तहमा संचालनमा छ । यो २०७४ सालका तीन वटै चुनावको प्रमुख एजेण्डा हो । त्यहि भजन गाएरै विपन्न परिवारसंग भोट माग्नेहरु अहिले जनप्रतिनिधी र सांसद समेत भए । अहिले उनीहरु चुनावी बाचा पुरा गर्ने दौडानमा छन् ।

इश्मा गाउँपालिका ६ अम्मरपुरका रवि कुमाल टीनले छाएको घर ।
इश्मा गाउँपालिका ६ अम्मरपुरका रवि कुमालको पुरानो खरे घर ।

अहिलेको बर्खामा इस्मा गाउँपालिका ६ का ७२ बर्षिय रविलाल कुमाल ढुक्कले निदाए । खरे झुपडीका रविलाललाई पानी परे बिस्तारा जोगाउन मुस्किल पथ्र्यो । गत बैशाखसम्म पनि उनको झुपडीभित्रको कथा पत्रपत्रिका र अनलाइनमा छन् । तर अहिले उनको अवस्था फेरिएको छ । ‘चुनावमा दिन्छौ भनेका थिए, बर्खा लाग्ने बेलामा भएपनि दिए खुसी छु,’उनले भने,‘भोट खेर गएन ।’ जनता आवास कार्यक्रम अन्तरगत इश्मा गाउँपालिकाले उपलब्ध गराएको टीनले उनले घर छाएका छन् ।
मालिका गाउँपालिका ६ अर्जेका पदम बहादुर विकको घरमा पनि निलो टीन टल्किएको छ । विकलाई आफ्नो उमेरसम्म घर छाउनुपर्ने र पानी परे ओतमा ओछ्यान लगाउनुपर्ने बाध्यता छैन् । ‘वडा कार्यालयमा गएर टीन ल्याँए, बर्खा पनि राम्रोसंगै बित्यो,’उनले भने,‘ घर र मन दुवै उज्यालो भएको छ ।’ सोहि स्थानकी मीना विकले पनि टीनले घर छाएकी छन् । उनको खर किन्ने पैसाले घर खर्च चलेको छ । बर्षेनी घर छाउनुपर्ने पीरलो पनि हटेको छ । इश्मा गाउँपालिका ३ दर्लामचौरका मान बहादुर परियारले पनि गाउँपालिकाबाट २७ पाता टीन पाए । यो बर्षनै निशुल्क टीन र मिटरबक्स पाएका मान बहादुर अत्यन्तै खुसी छन् । ‘बल्ल गाउँमै सरकार आए जस्तै भएको छ,’उनले भने,‘ओत र उज्यालो एकैचोटी पाएका छौ ।’

स्थानीय तहको प्राथमिकतामा ‘जनता आवास’

मालिका गाउँपालिका ६ अर्जेका पदम विकको टीनले छाएको घर ।

जनता आवास कार्यक्रम अन्तरगत खरका छाना बिस्थापन गरि टीन लगाउने अभियान जिल्ला प्राय स्थानीय तहमा प्राथमिकतामा परेको छ । सोहि कार्यक्रमका लागि गत आर्थिक बर्षमा धुर्कोट गाउँपालिकाले एक करोड ४५ लाख बजेट बिनियोजन गरेको थियो । जसबाट पाँच सय घरधुरीले टीनले घर छाएको गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए । यो बर्ष १० लाख बजेट बिनियोजन भएको छ । त्यो बजेटबाट एक सय ५० घरधुरीले टीन पाउने पोखरेलले बताए ।
त्यस्तै मदाने, इश्मा र मालिका गाउँपालिकाले एक÷एक करोड बजेट बिनियोजन गरेका थिए । मदाने गाउँपालिकाले गत बर्ष दुई सय ६२ घरलाई टीन वितरण गरेको जनाएको छ । भने अहिले पनि एक करोड बिनियोजन गरि करिव तीन सय घरलाई टीनका पाता उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए । त्यस्तै मालिका गाउँपालिकाले एक हजार ५७ घर मध्ये गत बर्ष तीन सय ६७ घरमा टीन लगाएको छ ।
यो बर्ष पनि डेढ करोड बजेट बिनियोजन गरि बाँकी घरमा टीन वितरण गरिने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । मुसिकोट नगरपालिकाले गत बर्ष दुई सय ५३ घरमा टीनका छाना लागउन ५५ लाख बिनियोजन गरेर काम सम्पन्न गरिसकेको छ । भने यो बर्ष थप दुई सय घरमा टीनका पाता वितरण गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत घनश्याम न्यौपानेले बताए । जसका लागि यो बर्ष २५ लाख बिनियोजन गरेर काम अगाडी बढि रहेको छ ।

नमुना तथा बस्ती सुधारमा मुसिकोट

मुसिकोट नगरपालिकाले जनता आवास कार्यक्रमसंगै बस्ती सुधारको क्षेत्रमा पनि काम गरिरहेको छ । जस अनुसार मुसिकोट नगरपालिका वडा नं ९ को ददल्का उर्लेनीमा खरका छाना हटाएर टीनका छाना लगाउने, विपन्न परिवारको जिर्ण घर मर्मत गर्ने, स्वास्थ्य र शिक्षा सम्बन्धि कार्यक्रम संचालन गर्ने तथा कृषी र उद्यम लगायत आयआर्जनका कार्यक्रम संचालन गरेको नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए ।
त्यस्तै वडा नं २ को मुसिकोट दरवारटोलमा पानीका घैटा निर्माण तथा छुट्टै टीन वितरण गरिएको छ । आगोले ध्वस्त वडा ४ को दजाकोटमा पुर्ननिर्माण भैरहेका ५७ घरलाई पनि नगरपालिकाले प्रत्येक परिवार एक÷एक लाख सहयोग उपलब्ध गराएको सापकोटाले बताए । त्यस्तै नमुना होमस्टेका रुपमा विकास गर्न दजाकोटमा यो बर्र्ष एक घर एक शुरु गरिने नगरपालिकाले जनाएको छ ।
त्यस्तै वडा नं ६ को कुर्घाको गुरुंगगाउँ होमस्टेलाई प्रर्वदन गर्न १० घरमा सोलार, गोठ सुधार, टीनका पाता तथा अन्य आवश्यक सामग्री प्रदान गरिएको मेयर सापकोटाले बताए । साथै एकिकृत बस्ती निर्माण अन्तरगत मुसिकोट नगरपालिका वडा नं ५ आँपचौरको हात्तिगौडालाई स्थान्तरण गर्ने कार्यक्रम समेत रहेको छ । टाढा र असुरक्षित बस्ती भएकाले विकास पु¥याउन समेत मुस्किलन परेकाले फाँटमा एक÷एक रोपनी जग्गा र घर छाउने टीन नगरपालिकाले उपलब्ध गराउने जनाएको छ ।

तपाईको प्रतिक्रिया