ईस्मा गाउँपालिकाद्धारा बजेटका बिषयमा सुझाव संकलन

79

गुल्मी, असार ४  । इस्मा गाउँपालिकाले आर्थिक बर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रमको बिषयमा सर्वपक्षिय छलफल तथा सुझाब संकलन गरेको छ । कार्यक्रममा सरकारको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति चन्द्र बहादुर महतले बिगतका नीति तथा कार्यक्रमको समिक्षा गर्ने परिपाटीको बिकास गर्न गाउँपालिकालाई सुझाव दिएका छन् ।

उनले गाउँमा व्यापक बेरोजगारी समस्या रहेकाले संघिय सरकारले ल्याए जस्तै अव दिर्घकालिन रुपमा यो समस्याको समाधान खोज्ने पालो स्थानीय सरकारको काँधमा आएको बताए । त्यस्तै महतले उपभोक्ता समितिमा बिचौलिया बढेको, गाउँपालिकाका कार्यक्रम परिणाममुखी नभएको समेत बताए । उनले गाउँमा बाँझो भएका जग्गालाई गाउँपालिकाले लिजमा लिएर समुह सहकारी मार्फत कृषी उत्पादन र आयआर्जनका क्षेत्रमा अगाडी बढ्नुपर्नेमा जोड दिए । साथै विकास निर्माणका काम गर्दा घटिघटाउमा गरिने कामको बिरोध गरे । ‘प्राविधीकले दुई करोडकमा स्टिमेट गरेको सडक ठेकेदारले ८०÷९० लाखमा गर्ने,’उनले भने,‘ पछि त्यहि कामलाई प्रमाणित गर्ने कस्तो प्राविधिक र प्रवृति ? ।’

नेपाल कम्युनिष्ट पार्टी इस्मा गाउँपालिकाका सचिव बसन्त सुनारले सुझाव संकलनको दायरा फराकिलो बनाउन आग्रह गरे । उनले स्थानीय स्तरदेखि केन्द्रसम्म विभिन्न बिज्ञ व्यक्तिहरुसंग छलफल वा सुझाव संकलन गरेर नीति तथा कार्यक्रम ल्याउँदा धेरै रचनात्मक सुझाव प्राप्त गर्न सकिने कुरामा जोड दिए ।

राष्ट्रिय युवा परिषद् गुल्मीका अध्यक्ष राजेन्द्र बिक्रम कुवरले अवको विकास उद्यमसंग जोडिनु पर्ने बताएका छन् । उनले राज्यले बाँडेको अनुदानका लागि नक्कली व्यावसायीक अभिनय गर्ने प्रवृति बढेकाले दुखद पक्ष औल्याए । कुवंरले अब त्यस्तो प्रवृतिको अन्त्य गर्दै कृषी क्षेत्रको भौतिक पुर्वाधार निर्माणको लागि किसानले लिने क्रृणको व्याजलाई स्थानीय तहले अनुदान प्रदान गर्न सुझावद दिए । साथै कुवंरले स्थानीय कच्चा पदार्थमा आधारित अनुदानको व्यावस्था गर्दै समुह सहकारीलाई क्रृण दिने साहु जी मात्रै नबनाएर उत्पादनसंग जोडन आग्रह गरे ।

त्यस्तै रेसुङ्गा बहुमुखी क्याम्पसका प्रमुख हरि बहादुर केसी र सहायक क्याम्पस प्रमुख गोविन्द गौतमले दिशाहिन बजेट र कार्यक्रमले गाउँपालिकाको विकास नहुने कुरामा जोड दिए । उनीहरुले स्थानीय सरकारसंग आफ्नो छुट्टै कार्ययोजना, त्यसको अवधि र प्राप्त हुने उपलब्धीको आँकलन हुनुपर्ने बताए । केसी र गौतमले परम्परागत शैलीले आर्थिक तथा सामाजिक रुपान्तरण नहुने भएकाले लक्ष्य र उदेश्य सहितको नीति तथा कार्यक्रम ल्याउन गाउँपालिकालाई सुझाव दिए । त्यस्तै शिक्षा क्षेत्रको विकासका निम्ती ल्याएको शिक्षा ऐन कार्यान्वयन गर्न आग्रह गरे ।

जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरीले नीति कार्यक्रमका बिषयमा अन्तर स्थानीय तहबिच पनि छलफल चलाउनुपर्ने सुझाब पेश गरेका छन् । साथै प्रदेश र संघ मातहतका कार्यालयहरुबिच पनि समन्वय र संवाद आवश्यक रहेको ठकुरीको भनाई छ । उनले स्थानीय तहका नीति र बजेटमा शुसासन, पारदर्शिता र जवाफदेहिता झल्किनु पर्नेमा जोड दिए । कार्यक्रममा अरु बिषयगत प्रदेश तथा संघिय कार्यालयका प्रमुख तथा प्रतिनिधीले पनि सुझाव पेश गरेका थिए । गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले सवै तहबाट उठेका सुझावहरु सुचिकरण गरिएकाले रचनात्मक र मुल्यवान बिचारहरुलाई संबोधन गर्दै लैजाने बताए । उनले आगामी दिनमा सुझाव संकलनलाई अझै फराकिलो बनाउने समेत प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले गरेका थिए ।

तपाईको प्रतिक्रिया