गुल्मीमा सम्बन्ध बिच्छेदको प्रतिस्पर्धा: महिला भन्दा बढी पुरुषले मुद्धा दर्ता गरे

जिल्ला अदालतमा लक्ष्य भन्दा बढि मुद्धा फर्छयौट

92

टोपलाल अर्याल
गुल्मी, १३ भदौ । नयाँ मुलुकी संहिता लागू भएसँगै जिल्ला अदालत गुल्मीमा सम्बन्ध बिच्छेद गर्ने महिला पुरुषको प्रतिस्प्रर्धा देखिएको छ । जिल्ला अदालत गुल्मीको तथ्याङ्क अनुसार पछिल्लो १३ दिनमा १९ वटा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएको कार्यालयकी नायव सुब्बा सीता घिमिरेले बताइन् । त्यसमा आठ महिलाका र ११ पुरुषका छन् ।

एकै दिनमा तीन पुरुष अदालत
नयाँ मुलुकी ऐनमा पुरुषले पनि सम्बन्ध बिच्छेद गर्न पाउने थाहा पाएपछि अदालत गुल्मीमा एकै दिन तीन पुरुषले मुद्धा दर्ता गरेका छन् । ऐन लागु भएपछि ७ भदौमा पहिलो पटक छत्रकोट गाउँपालिका ६ का लक्ष्मण ज्ञवाली, इस्मा गाउँपालिका ५ का शोभाखर पन्थ र रेनपा ४ का राजेन्द्र बहादुर खत्रीले एकै दिन पत्नी बिरुद्ध सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरे ।

१३ भदौमा एकै दिन धुर्कोट गाउँपालिका १ का बाबुराम थापा र रेसुङ्गा नगरपालिका १३ का हरि बहादुर खत्रीले सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरे । जिल्ला अदालत गुल्मीमा नयाँ मुलुकी ऐन लागु भएकै दिन १ भदौमा एक महिलाले सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गराइन् ।

अहिलेकै अवस्था रहे संख्या अत्यधिक
अहिलेसम्म सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जान सक्ने व्यवस्था भए पनि पुरुष भने अदालत गएर मुद्दा दर्ता गर्ने कानूनी व्यवस्था थिएन । १ भदौबाट लागू भएको नयाँ मुलुकी संहिताले सम्बन्ध बिच्छेदका लागि पुरुषलाई पनि सोझै अदालत जाने बाटो खुल्ला गरेको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार दुर्गा प्रसाद बस्यालले बताए ।

जसका कारण अहिले जिल्ला अदालत तम्घासमा सम्बन्ध बिच्छेदका लागि पुरुष पुग्न थालेका छन । अहिलेकै अवस्था रहे आउने ६ महिनामा सम्बन्ध बिच्छेदको संख्या धेरै माथी पुग्ने कानुन व्यावसायीहरु बताउँछन् । पतिको मञ्जुरी नलिई लगातार तीन बर्ष वा सो भन्दा बढि समेदेखि अलग बसेमा, पत्नीले खाना लगाउन नदिई घर निकाला गरेमा, अङ्ग भङ्ग हुने कुनै मानसिक वा शारीरिक कष्ट हुने किसिमको कुनै काम वा प्रपञ्च गरेमा र पत्नीले परपुरुषसंग यौन सम्बन्ध राखेको ठहरेमा पुरुषले सम्बन्ध बिच्छेद गर्न पाउने कानुनी व्यावस्था रहेको छ ।

जिल्ला अदालतमा लक्ष्य भन्दा बढि मुद्धा फर्छयौट
जिल्ला अदालत गुल्मीले लक्ष्य भन्दा ५.५० प्रतिशन बढि मुद्धा फर्छयौट गरेको छ । आर्थिक ०७४÷०७५ मा जिम्मेवारी सरेका ८९ र नयाँ दर्ता भएका तीन सय ११ मुद्धा फर्छयौट भएका छन् । अघिल्लो बर्षको ८९, यो बर्ष दर्ता हुने अनुमान गरिएको तीन सय ३१ गरी चार सय २० मुद्धामा ७० प्रतिशत अर्थात दुई सय ९४ मुद्धा फर्छयौट गर्ने लक्ष्य अदालतको थियो ।

जसमा अनुमान भन्दा २० वटा मुद्धा कम दर्ता भएका थिए । त्यसैले जम्मा चार सय २० मुद्धामा अदालतले चार सयमा तीन सय दुई अर्थात ७५.५० प्रतिशत मुद्धा फस्र्यौट गरेको अदालतका श्रेष्तेदार दुर्गा प्रसाद बस्यालले जानकारी दिए । जिल्ला अदालतमा एक बर्षदेखि १८ महिना भित्रका १८ वटा मुद्धा रहेका छन् ।

तपाईको प्रतिक्रिया