काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेल नेपालमा मात्रै नभएर विश्वमै रुचाइएका कलाकारको सूचीमा परेका छन् ।

स्वदेशी मात्र होइन, विदेशी उच्चनेताको समेत ‘क्यारिकेचर’ गर्न सफल हास्यकलाकार गजुरेललाई अमेरिकाको चर्चित ‘सिबिसी न्युज’ले विश्वका चर्चित १८ कमेडियनको सूचीमा समेटेको हो ।

गजुरेलले सन् २०१७ अगस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गरेका थिए । जुन निकै चर्चित बनेको थियो । गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड खुला राजनीतिमा आएपछि गरेको क्यारिकेचर पनि निकै चर्चित भएको थियो ।

उसो त उनले नेपालका उच्चनेताहरू स्वर्गीय गिरिजाप्रसाद कोइराला, स्वर्गीय सुशील कोइराला, प्रधानमन्त्री केपीशर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत अधिकांशको क्यारिकेचर गरेर दर्शकको मन जितिसकेका छन् ।

आफूलाई सिबिएस न्युजले विश्वका १८ कमेडियनको सूचीमा समावेश गरेपछि हास्यकलाकार गजुरेलले सामाजिक सञ्चालमा लेखेका छन्– अमेरिकाको सिबिएस न्युजले विश्वका १८ जना कमेडियनहरूमा नेपालका मनोज गजुरेललाई पनि समावेश गरेको छ, जसले राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गर्दछन् । मनोज गजुरेल नेपालमा जन्मेका थिए, नेपालमा बस्छन् र सायद नेपालमै मर्छन्, जय नेपाल !

तपाईको प्रतिक्रिया