किन दुख्छ टाउको ? डा. आलोकचन्द्र ठाकुर को सल्लाह

98

विश्व स्वास्थ्य संगठनका अनुसार प्रायः मानिसले आफ्नो जीवनमा एक या एकभन्दा बढीपटक टाउको दुखाइको समस्या भोगेका हुन्छन् । टाउको दुख्नुका कारण सामान्यदेखि प्राणघातकसम्म हुन सक्छन् । चिकित्सकहरूले जुनसुकै उमेर समूहका व्यक्तिलाई टाउको दुख्दा सामान्य रूपमा एकपटक आँखा जचाउन सल्लाह दिने गरिन्छ । प्रायः टाउको दुख्नुको कारण आँखासम्बन्धी समस्याले नै हुन सक्छ । आँखाको जाँचपछि वा आँखाको समस्याको उपचारपछि पनि टाउको दुख्न नछाडे समस्या अर्कै हुन सक्छ । यो अवस्थामा टाउको दुख्ने कारण यस्ता हुन सक्छन् :

टेन्सन हेडेक
यो सामान्य रूपमा हुने टाउको दुखाइको एक प्रकार हो । यस्तो प्रकारको दुखाइमा व्यक्तिले आफ्नो टाउको केही कपडाले कसेर बाँधेझैँ महसुस गर्छन् ।

माइग्रेन
माइग्रेन आफैँमा व्यापक विषय हो । सामान्य बुझाइमा यसलाई आधा टाउको दुखेको पनि भनिन्छ । यो प्रकारको दुखाइमा टाउकाको कुनै एक भाग (कहिले दाहिने, कहिले देब्रे) दुख्ने गर्छ । यो अवस्थामा वाकवाकी आउने, बान्ता हुने, उज्यालोमा हेर्न असहज हुनेजस्ता समस्या पनि हुन्छ ।

क्लस्टर हेडेक
यो प्रकारको टाउको दुखाइ थोरै मानिसमा मात्रै हुने गर्छ । दिनमा कुनै एक समयमा दुख्ने र फेरि निश्चित समयको अन्तरपछि दुख्ने लक्षण देखिन्छ । बिरामीले यो प्रकारको दुखाइमा जीवनकै सबैभन्दा बढी दुखाइको रूपमा चित्रण गर्छन् ।

कस्तो दुखाइमा डाक्टरकहाँ जाने ?
० अन्य सामान्य अवस्थाको भन्दा फरक किसिमले दुखेमा ।
० अचानक र असाध्यै दुखेमा ।
० दुखाइसँगै ज्वरो आउने, खोकी लाग्ने, घाँटी उचाल्न वा घुमाउन असजिलो भए ।
० टाउको दुखाइसँग आँखा हेर्न अप्ठ्यारो हुने, एउटा चिज दुईवटाजस्तो देखिने, हातगोडा लाटो हुने, चक्कर लाग्ने, वान्ता हुनेजस्ता लक्षण देखिए ।
० टाउको दुख्नुको संवेदनशीलताबारे सजग भएर सकेसम्म तुरुन्त दक्ष चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

टाउको दुखाइ कम गर्न
टाउको दुखे वा दुख्लाजस्तो भए दैनिक जीवनमा निम्न विषयमा ध्यान दिनुपर्छ । केही पाटोमा विचार पुर्‍याए दुखाइ केही हदसम्म कम गर्न सकिन्छ ।
० दैनिक ६–८ गिलास पानी अनिवार्य पिउने ।
० दैनिक सागपात तथा फलफूल खाने ।
० सुर्तीजन्य पदार्थ र मदिरा सेवन नगर्ने ।
० दीर्घकालीन रोगहरू, जस्तैः मधुमेह, उच्च रक्तचापलगायत समस्या छ भने नियमित जाँच गराउने ।
० शारीरिक व्यायाम गर्ने ।
० आँखा जाँच गराइराख्ने ।

यो पनि
टाउको दुखाइ आँखा, मस्तिष्क, रगतका नसाहरू, रगतको प्रवाहमा हुने अवरोध, रक्तचाप र अन्य अंगका रोगसँग पनि सम्बन्धित हुने भएकाले दक्ष चिकित्सकको सल्लाहमा रोग पहिचान गरी उपचार विधि अपनाउनुपर्छ ।

स्वयंले दुखाइ कम गर्न खोज्ने तथा औषधि प्रयोग गर्ने बानीका कारण धेरै रोग पुरानो भएर समस्या निम्त्याइरहन्छन् । वेलैमा चिकित्सककहाँ जाने र सही उपचार गराउने हो भने जटिल रोग ठीक गराएर जीवनलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ ।

डा. आलोकचन्द्र ठाकुर
कृष्णप्रसाद अस्पताल, बनेपा

तपाईको प्रतिक्रिया